एजेन्सी । साविक विजेता लिभरपुलले ईङलिश प्रिमियर लिग फुटबलमा छैटौ जित हात पारेको छ । गएराती लेष्टर सिटीलाई ३–० ले हराउदै लिभरपुलले शीर्ष स्थानको टटनह्यामसंग अंक बराबरी गरेको हो । घरेलु मैदानमा लिभरपुलाई जिताउन डिएगो जोटा र रोबर्टो फिरिमिनोले गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो ।
२१ औ मिनेटमा उपहार गोलमा अग्रता बनाएको लिभरपुलका लागि जोटाले ४१ र फिरिमिनोले ८६ औ मिनेटमा गोल गरेका थिए । खेलमा अधिकांश समय लेष्टरलाई दबावमा राखेको लिभरपुलका थप दर्जन प्रयास असफल भएका थिए । लेष्टरले पनि पाएका सिमित अवसर खेर फाल्दा शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो । ९ खेलबाट २० अंक जोडेको लिभरपुल गोल अन्तरमा पछि रहदै दोस्रो स्थानमा छ । समान खेलबाट १८ अंक जोडेको लेष्टर चौथो स्थानमा झरेको छ ।
गएरातीनै एभर्टनले फुल्ह्यामलाई ३–२ ले हराउदा वेष्टह्यामले सेफिल्ड युनाईटेडलाई १–० ले स्तब्ध पार्यो । आर्सनल र लिड्सले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।