Logo

प्रणय दिवस र किशोरावस्थाको प्रेम

प्रभात खबर २ फाल्गुन २०७७, आईतवार ११:३४ मा प्रकाशित

सुजन बाबु बस्नेत
इटहरी, फाल्गुन २।

प्रणय सप्ताहलाई प्रेमिल जोडीहरुले स्वर्णिम सप्ताह मान्दछन् । प्रणय दिवस खास गरी पश्चिमी संस्कृति अन्तर्गत भएता पनि आम नेपाली विशेषगरी किशोर-किशोरी माझ लोकप्रिय रहेको छ । आफ्नो प्रेम अभिव्यक्त गर्नको लागि अङ्ग्रेजी महिनाको फेब्रुअरीका ७ देखी १४ तारिखका दिनहरुलाई बिभिन्न दिवसको रुपमा मनाइन्छ । रोज डे बाट सुरु हुने प्रणय सप्ताह प्रेमको उत्कर्षमा पुग्ने दिन अर्थात् भ्यालेनटाइन डेका दिन समाप्ति हुन्छ । यस अवधिमा अधिकांश किशोरावस्थाका जोडीहरु सुरक्षित डेटिङ डेस्टिनेसनको खोजीमा हुन्छन् । प्राय भर्खर एस.इ.इ. दिएकाहरु, +२ पढ्दै गरेकाहरु अथवा स्नातक पढ्दै गरेकाहरु यो समयमा लुकीछिपी रमाइरहेको हुन्छन् । वर्षेनी, विशेषगरी प्रणय सप्ताहमा प्रहरीले मन्दिर आसपास, पार्क, जङ्गल बाट कयौँ कलिला जोडीहरुलाई आपत्तिजनक अवस्थामा पक्रिने गरेको छ । भर्खर बाबु-आमाको काखबाट बाहिर निस्केका किशोर किशोरीहरु प्रेमको भ्रममा एक आपसमा शरीर साटेर त्यसलाई नै सफलता वा खुसी मानेर जीवनको वास्तविक सफलता र खुसी गुमाइरहेका हुन्छन् । सामाजिक सञ्जाल, मोबाइल तथा आजको विकसित प्रविधिको सहज पहुँच र त्यसको गलत प्रयोगले यस्तो प्रवृत्ति दिनानुदिन बढिरहेको पाइन्छ । प्रणय सप्ताहमा अलि बढी हुने भएता पनि यस्ता क्रियाकलाप बाह्रै महिना हुने गर्दछन् ।

किशोरावस्थामा सोचमा बारम्बार परिवर्तन, चञ्चल मन, तथा विपरीत लिङ्गी प्रतिको आकर्षण स्वाभाविक हो । तर जीवनको सफलता र असफलता तथा हाँसो र खुसी पनि यही अवस्थाले निर्धारण गर्दछ । किशोरावस्था जीवनको हवाईजहाज बनाउने अवधि हो, जति राम्रो हवाईजहाज बनाउन सकिन्छ त्यति सफलताको गगन चुम्न सकिन्छ । तर आजका अधिकांश किशोर किशोरी जङ्गलको रुखमुनि बसेर प्रेमको हवाईजहाजमा उडिरहेका हुन्छन् । अध्ययन गर्ने, ज्ञान हासिल गर्ने, बिभिन्न आयमबाट व्यक्तित्व विकास गर्न कडा मिहिनेत गर्नु पर्ने बेलामा अथवा समग्रमा भविष्यको गोरेटो खन्ने बेलामा अधिकांश किशोर किशोरीहरु सबै कुरा बिर्सेर प्रेमको दिग्भ्रमित गोरेटो खनिरहेका छन् । जसले अन्ततः जीवनलाई गलत दिशा तर्फ मोड्दछ । कुनै न कुनै बाहाना बनाएर घरमा त ढाँट्छन् तर उनीहरुले आफैँलाई ढाँटिरहेको भेउ भने धेरै ढिलो मात्र पाउँछन् ।

किशोर किशोरीहरुले आफ्नो उर्वर समय रातभर फोनमा बोलेर, च्याट गरेर, डेटिङ गएर नष्ट गरिरहेका हुन्छन् । यसले किशोर किशोरीहरुको मस्तिष्कमा नकरात्मक प्रभाव पार्दछ र जीवनको सर्वोत्तम खुसि, उत्तम व्यक्ति र समय नै त्यहि हो भन्ने सम्मको भान पर्न जान्छ । तर जब सचेत मस्तिष्कले सोच्न सक्ने हुन्छन् अनि त्यही समय जीवनकै सबै भन्दा ठुलो भुल लाग्छ र जीवनभर पश्चताप हुन्छ । बिशेषगरी बोर्डिङ्ग स्कुलमा नैतिकताले भन्दा करकापले अनुशासनमा राखेका विद्यार्थी कलेजको खुल्ला वातावरणमा पुगेपछि गलत बाटो समाउँछन भने गाउँबाट पढ्न शहर छिरेका अधिकांश किशोर किशोरीहरु गलत बाटोमा लाग्दछन् । आफ्नो भविष्यको ख्याल नहँुदा, बाबु आमाको इज्जत तथा पसिनाको महत्व नबुझ्दा र उचित अभिभावकत्व नहुँदा सानै उमेरमा गलत बाटो समाउनेहरुको लामो लर्को रहेकोे छ । एकातिर बाबु आमा दिन रात नभनी, हात पाउ खियाएर, खाइ नखाई छोराछोरीलाई पढ्न पठाउँछन भने अर्का तिर छोराछोरी बाबुको काँध र आमाको काखमै रमाउनुपर्ने उमेरमा जङ्गल, होटल वा अन्त कतै क्षणिक आनन्द लिँदै तिनै बाबु आमाको पसिनालाई लत्याइरहेका हुन्छन् । आवेशमा आएर, भविष्य नसोची अथवा बाबु आमाको त्याग तपस्या तथा इज्जत ख्याल नगरी गरिएका खराब कार्यले जीवन भरको लागि हाँसो खुसी र सफलतालाई नामेट बनाइदिन सक्छ । किशोरावस्थामा हामी कुवा भन्दा ठुलो पोखरी, पोखरी भन्दा ठुलो ताल र ताल भन्दा ठुलो सागर र सागर भन्दा पनि ठुलो महासागर हुन्छ भन्ने बिर्सेर कुवामै रमाउँछौँ, कुवालाई नै संसार देख्छौ जबकि त्यहि उमेरलाई आफ्नो बसमा राख्न सकियो भने महासागर जत्रा खुसी, सफलता र सम्मानहरु प्राप्त गर्न सकिन्छ ।

एकातिर त्यहि उमेरका बिद्यार्थीहरु सही बाटो सही सङ्गत र सही मिहिनेत गरेर स्वर्णीम भविष्यको मार्गचित्र कोरिरहेका हुन्छन् । आज यति ज्ञान हासिल गरेर मात्र सुत्छु भनिरहेका हुन्छन् साथै सफलताका सिढीहरुले बाबुआमालाई गौरवान्वित बनाइरहेका हुन्छन् भने अर्कातिर भने बेबी एक पटक आइ लव यु भन अनि मात्र म निदाउँछु ।एतिमात्र कहाँ हो र भोलि फलानो पार्कमा भेटेर तिम्रो काखमा सुत्ने है सम्मका गफ तथा कामले भविष्य बरबाद पार्दै बाबु आमाको नाक काटिरहेका हुन्छन् । त्यहि उमेरका मलाला युसुफ जाई, ग्रेटा थनबर्गहरुले विश्वमा तहल्का मच्चाउँछन, त्यहि उमेरका अस्मिता अधिकारीहरु संसारकै महँगो बिश्वविद्यालयमा छात्रवृतिमा पढ्न जहाज चड्छन, त्यहि उमेरका सपना रोका मगरहरु वेवारीसे लासलाई व्यवस्थापन गरिरहेका हुन्छन, त्यहि उमेरका अधिकांश बिद्यार्थीहरु जन्मलाई सार्थकता दिन र बाबुआमा हँसाउन रातदिन मिहिनेत गरिरहेका हुन्छन् अनि त्यहि उमेरका एकाध किशोर किशोरीहरु भने मेसेन्जरमा लवको इमोजी हेरेर अथवा डेटिङ स्पट वा जङ्गलमा अँगालोमा बाँधिएर जीवनभर पश्चताप गर्नको लागि तयारी गर्दै हुन्छन् ।

आजको दिनमा बीस बर्ष अघि गरिएको विवाहले भन्दा बीस बर्ष अघि गरिएका अनैतिक प्रेम सम्बन्धले आम किशोर किशोरीको भविष्य बर्बाद पारिरहेको छ । प्रेम, सम्बन्ध लगभग अपरिहार्य छ तर हरेक कुराको समय हुन्छ । किताब, कापी र कलम समाउनु पर्ने बेला र हातले कसैको हात समाउन लागि परेको पाइन्छ । नेपालमा हाल यो प्रवृति दिनानुदिन बढ्दो छ । लगभग हरेक पन्ध्र बर्ष कटेका र बीस बर्ष ननाघेका किशोर किशोरीहरु बिना जोडीका भेटिन गाह्रो छ । आजको पन्ध्र बर्षको विद्यार्थीले अर्को पन्ध्र बर्षमा देशको कुनै न कुनै तह तप्कामा रहेर काम गर्नु पर्ने हुन्छ, तर उसको मानसिकता पन्ध बर्षको हुँदा देखी नै यति नकरात्मक कुराले भरिएको हुन्छ परिणामतः नवीनतम सोच, खोज, शैली तथा सृर्जनशिलता हराउँछ । अझ प्रेम सँगै राजनीतिको गलत स्कुलिङले दिमाग भुटिन्छ फलस्वरुप समाज कु—संस्कृति, तथा कुरीतिमय बन्छ र पुरा देशको भविष्य अन्धकार हुन्छ ।

गहिरिएर अध्ययन गर्ने र त्यसको दूरगामी प्रभाव मुल्याङ्कन गर्ने हो भने बीस बर्ष अगाडी गरिने प्रेम रोमान्स र विवाह अति नै संवेदनशील विषय हुन् । यसको प्रमुख कारण हाम्रो शिक्षा प्रणाली, सैद्धान्तिक ज्ञानका मात्र पुञ्ज भएका र वर्तमान परिप्रेक्ष्यसँग अद्यावधिक नभएका शिक्षक गण तथा घरको कमजोर वातावरण र प्रेम/ सेक्स जस्ता विषयमा बालबालिका सँग खुलेर बहस नहुनु हो । नैतिक शिक्षामा पुर्णाङ्क हासिल गरेको विद्यार्थी घर समाजमा सबै भन्दा अनैतिक सावित हुन्छ । कति जानेको छ भन्ने भन्दा पनि कति व्यवहारमा उतार्न सक्छ भन्ने कुरालाई मध्यनजर गरी मुल्याँकन गर्नु पर्दछ । स्कुलमा विद्यार्थीलाई पाठ घोकाउने भन्दा पनि पाठ बुझाउने र जीवन दर्शन तथा जीवनको मूल्य सिकाउन जरुरी छ । विद्यार्थी स्वभावैले भनेको सजिलै खाँदैन तर अलिक रचनात्मक भएर मनमा छुने गरी बुझाउने हो भने विद्यार्थीले सानै उमेर देखी नैतिक र अनैतिक भन्ने कुरा जीवनका पानामा पनि उतार्न सक्छ । स्कुल कलेजमा प्रेम सम्बन्ध, सेक्स जस्ता विषयमा खुलारुपमा बहस गरी बीस बर्ष नपुगी त्यसता कुलतमा लाग्दा भोग्नु पर्ने दुष्परिणाम सरल र मनन हुने गरी बुझाउन जरुरी छ । सानै उमेरदेखी पठन संस्कृति जगाउनु पनि यस समस्याको समाधानको सजिलो उपाय हो । अर्को तर्फ घरमा बाबुआमाले स्वतन्त्रता सँगै नकरात्मक कामको लागि डरको भावना सृजना गराउनु पर्दछ र उनीहरुको व्यवहारमा निगरानी राख्न जरुरी छ ।
अत, अठार/बीस बर्ष भन्दा अगाडि गरिएका प्रेम, प्रेम हँुदैनन् । त्यो आफ्नो भविष्य र बाबु आमाको पसिना लत्याउने कुचेष्टा हो । किशोरावस्थाको क्षणिक रमाइलो छोडेर अगाडि बढ्ने हो भने जिन्दगीलाई नै स्वर्णीम बनाउन सकिन्छ । तसर्थ किशोर किशोरीहरुले बीस बर्ष अगाडि किताब कापी र कलम सँग प्रेम गर्नुस् । परिपक्क मस्तिष्कले बीस बर्ष पछाडि गरिएका प्रेममा पनि जीवनको पेशागत लक्ष्यलाई नभेट्टाउन्जेल दुबै मिलेर पेशागत लक्ष्यलाई प्रेम गर्नुस र दुवै आफैँ अडिन सक्ने भएपछि प्रेमको सम्राज्य खडा गर्नुहोस् जहाँ तपाँईको प्रेमले युगौँ युग जरा गाड्न सकोस् प्रेम दिवसको प्रेमिलय शुभकामना ।

सुजन बाबु बस्नेत
इटहरी , सुनसरी
अनुभव
२ वर्ष शिक्षण बालबिकास बोर्डिङ्ग स्कुल इटहरी सुनसरी,
२ वर्ष एन आइ सि एसिया बैक बिराटनगर कर्जा प्रबन्धक
१ वर्ष मुक्तिनाथ बिकास बैँक इनरुवा शाखा प्रबन्धक,
निवर्तमान उपाध्यक्ष रोट्र¥याक्ट क्लव अफ इटहरी,
हाल अध्यापन गराइरहेको गोल्डेन बृज कलेज झुम्का सुनसरी तथा एम बि ए अध्ययनरत पुर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट बिराटनगर
९८०८०५९३४७

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार