Logo

खै हाम्रो आवाज कसले सुनिदिने

प्रभात खबर २७ फाल्गुन २०७७, बिहीबार १०:१० मा प्रकाशित

मान बहादुर भुजेल
इटहरी, फाल्गुन २७
खुसी आफैमा एउटा रमाइलो शब्द हो ।यो जो कोहीलाई पनि मन पर्छ । सबैजना त्यसभित्र डुब्न र रमाउन चाहन्छन् । त्यसैगरी खुसी र रमाइलो साट्न हामी अपाङ्गता भएका व्यक्तिलाई मन नभएको कहाँ हो र ?तर हाम्रा लागि कहि गएर घुम्नु, डुल्नु र रमाउन कुनै युद्धमा सामेल हुनुभन्दा कम छैन । किनकी हाम्रा सार्वजनिक भौतिक संरचना अपाङ्ग मैत्री छैनन् । अनि यो समाजमा हाम्रो स्थान कहाँ छ र ?को हो हामी? जस्ता अनोत्तरित प्रश्नहरु कैयौं पटक मेरो मनले सोध्ने गर्दछ ।

यस्तै अन्योलका बिच, अरु झै हामी अपाङ्गता भएका साथीहरु प्नि शनिवारको छुट्टिमा रमाइलो र घुमफिर गर्न इटहरी –२ मा रहेको यीप्पी ल्याण्डमा पुग्यौं । जहाँ धेरै मानिसहरुको भिडभाड र चहलपहल थियो । त्यही बिचमा हामी पनि ५/६ वटा व्हिल चियर गुडाउँदै गेटतिर प्रवेश ग¥यौं । वरिपरिका धेरै जसो मानिसहरुले हामीलाई नियाल्दै थिए । केही असजिलो महसुस गर्दै टिकट काउण्टरतिर लाग्यौं जहाँ अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क व्यवस्था गरिएको रहेछ । जुन कुराले हामीलाई निकै नै खुसी तुल्यायो । भित्र प्रवेश गर्न साथै अपाङ्गमैत्री व्हिल चियर ¥याम्प देख्दा हाम्रो खुसीको सिमा नै रहेन । घुम्न त आइयो तर गाहृो हुन्छ होला भन्ने चिन्तालाइृ टाढा बनाइदियो । सबै साथीहरु आ–आफ्नो मोबाइल फोन झिक्दै यताउता फोटो खिच्न तिर लागे ।

रोटेपिङ्ग, जुरासिक पार्क, स्वीमिंङ्ग पुल , पानीको छाल, चिप्लेटी देख्दा साहृै नै खुशी महसुस भयो । आफुले जिप राइडिङ्ग र स्वीमिङ्ग गर्न नसकेपनि प्रत्यक्ष रुपमा नियाल्न पाउँदा ज्यादै आनन्द महसुस भयो । सबै साथीहरु कुरा गर्दै थिए,“एत्तीको मात्र भौतिक संरचना सबैतिर भए हाम्रा लागि सहज हुन्थ्यो है ?” एत्तिकै मा अर्को एक जना साथीले भन्यो, “पख्नुस न म प्रधानमन्त्री त हुन पाउँ, सबै ठाउँमा व्हिलचियर पुग्न सक्ने खालका संरचना निर्माण गर्नेछु ।”साथीको यस्ता कुराले मेरो मनमा चुसुक्क छोयो । वास्तव मै हाम्रो अधिकारहरु स्थापित नहुनुमा निर्णायक तहमा अपाङ्गता भएका व्यक्तिको सहभागिता नहुनु नै हो कि जस्तो लाग्यो । खासमा अचानोको पिडा त्यो खुकुरीलाई के थाहा भने झै अपाङ्गता भएको व्यक्तिको पिडा सबैभन्दा बढी अपाङ्गलाई मात्र थाहा हुन्छ । त्यसैले हरेक तहमा उनीहरुको सहभागिता आवश्यक छ ।


यसरी “Yippee Land” ले हामी जस्ता अपाङ्गता भएका व्यक्तिहरुको भावनालाई बुझेर पूर्ण रुपमा नभए पनि अधिकांश ठाउँमा अपाङ्ग मैत्री भौतिक संरचना बनाए झै अन्य सार्वजनिक स्थलहरु जस्तै विद्यालय, क्याम्पस, बैक, सिनेमा हल, अस्पताल, मठ–मन्दिर, सरकारी कार्यालयय, सडक पेटी आदि भौतिक संरचनाहरु अपाङ्ग मैत्री बनाउनु पर्ने आवश्यतकता देखिन्छ । यस्ता ठाउँहरुमा मैले नि धेरै पटक शौचालय जाँदा २/३ जना साथी लिएर हातले टेकेर जानुपर्ने , बैंक जाँदा भित्र जान नसकी रोडमा नै सहि गर्नुपर्ने , मैले पढ्ने क्याम्पसमा समेत अपाङ्ग मैत्री शौचालय नहुँदा पिसाब आउला कि भनी कम पानी पिएर जाँदा नी आइ हालेमा घर नै फर्कनु पर्ने , सरकारी कार्यालयमा माथिल्लो तलामा रहेका प्रमुखलाई भेट्न नसकी घण्टौं सम्म तल नै कुर्नुपर्ने र अस्पतालमा शौचालयमा व्हिलचियर नछिर्ने हुँदा युरिन टेस्टका लागि बाहिर नै पिसाब झिक्न पर्ने जस्ता अनेकन समस्याहरु भोग्नु परेको छ ।


म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कैयौं अपाङ्ग साथीहरु विशेष महिला साथीहरुले समाजमा अपाङ्गता मैत्री विहिन भौतिक संरचना कै कारणले विवेध सहन परेको छ । यहाँ हामी दलितलाई त हिजोको शासक वर्गले अछुत बनायो भन्छौं तर आज पनि हामी अपाङ्गता भएका व्यक्तिहरुलाई यी भौतिक संरचनाहरुले अछुत बनाएको कस्ले देख्ने ?कस्ले सुन्ने अनि कस्ले बुभ्ने ? कति सरकार फेरिए झन् अहिले त तीन तहको सरकार बनिरहँदा पनि त खै हाम्रो आवाज कसले सुनिदिने ?कसले ?

सम्बन्धित खवर

समाचार