Logo

नारी स्वतन्त्रता र आधुनिकताको नाममा मातृत्वलाई किन बदनाम गर्ने

प्रभात खबर २१ बैशाख २०७८, मंगलवार १६:३६ मा प्रकाशित

कृष्णकला राई

आजको आधुनिक नारीले मातृत्वलाई नारी स्वतन्त्रताको नयाँ नाम दिएकी छिन् । गर्भाधारणको शुरुवातसंगै विभिन्न पोजमा सामाजिक संजालमा फोटो पोस्ट गर्र्नुलाई नारी स्वतन्त्रताको शुरुआत आफुबाट भएको सार्वजनिक गरेको हामी दिनप्रतिदिन देख्न पाइरहेको छौं ।

मातृत्व वास्तवमा एउटा नारीका लागि सुखद अनुभुति मात्र होइन नारीको पुर्णतःको प्रतिक पनि हो । एउटा नारीले जब मातृत्वबाट वञ्चित हुन पुग्छिन् तब समाजबाट कसरी अपहेलित भएर जीवन व्यतित  गर्नुपर्छ त्यो पिडा उसैलाई मात्र थाहा हुन्छ । नारीलाई सृष्टिको सृजक मानिन्छ किनभने उबाट नै जन्मेको संतानले नै आफ्नो वंशलाई अगाडि बढाउने गर्छन् । को कुन वंश, र कतिऔं पिंढी चिनाउने पनि महान नारी नै हुन् । तर आज आधुनिकताको नाममा मातृत्वको त्यो सुखद अनुभुतिलाई ¥याम्पमा कुनै फेशन शोमा शो गरे जस्तो वा भनौं एउटा सजिसजाव भएको पसलमा राखिएको डमी जस्तै सामाजिक सञ्जालमा शो गर्दा आफु नारी भएकै कारण लज्जास्पद र दुखद अनुभुति भएर आउँछ ।

म पनि एक नारी हुँ ! युवाअवस्थादेखि आज यो उमेरसम्म आइपुग्दा आम नारीले खेपेका तीक्ष्ण भनाइ जस्तो कसैले छातीमा नुकिलो किलले खोपेको तीतो अनुभव मैले पनि भोगेकी र हेरेकी छु यही आधुनिक समाजमा । एक आम नारीले अहिलेपनि यस्ता तीक्ष्ण शब्दका बाणहरु खेपिरहेको हेर्न हामी टाढा जानु पर्देन , मात्र कहिलेकाँही सार्वजनिक सवारी साधनको यात्रा वा गाउँघरको मेलापातमा गएर हेर्न सकिन्छ । तपाईहरुले याद गर्नुभए कै होला यात्रुहरुले खचाखच भरिएको बस, टेम्पो, वा अन्य कुनै सवारी साधनमा यात्रा गर्ने क्रममा एउटा भोख वा तिर्खाले व्याकुल बालकलाई आँचलले छोप्न नभ्याई स्तनपान गराउँदा  यही आधुनिक समाजका केही पुरुषहरुका लागि त लालायित हुने अंग नै भयो तर आधुनिक नारीहरुले कस्तो पाखेनी रहेछ भनेर ट्याग लगाएको त हेर्नु नै भएको होला ! त्यतिमात्र कहाँ हो र ? मेलापात वा घाँसपात गर्दा पनि आप्mनो चोलोको तुना खोलेर स्तनपान गराउँदै गरिएकी एक आमालाई पनि यही आधुनिक नारीहरु नै होइनन् कस्ती नकचरी लाज पचेकी आइमाई भनेर ट्याग भिडाइ दिएको । गाउँघरका ती सोझा आमाहरुको मात्र के कुरा गर्नु म स्वम्ले पनि यदि दुइचार जना महिला पुरुषहरुको सामु आँचलले छोपेर स्तनपान गराउँदा यही आधुनिक समाजका आधुनिक नारीहरुले भित्र गएर नानीलाई दुध खुवाउ भनेर तीतो वचन दिएको हिजो अस्ती जस्तो नै लाग्छ ।

त्यसैले सबैभन्दा पहिला शिक्षाको आधुनिकता ल्याउनु पर्यो । शहरका आधुनिकताको आवरण ओढेकाहरुको लागि मात्र होइन गाउँघरमा वा ग्रामीण भेगहरुमा बसोबास गर्ने नारीहरुको स्वतन्त्रतामा आधुनिकता ल्याउनु पर्यो ।आधुनिकताको नाममा बेबी शोवर जस्ता विदेशी संस्कारलाई अंगाल्ने तर सोच भने त्यहि पुरानो जस्तै श्रीमतीले नै भान्सा सम्हालनु पर्ने, बालबच्चालाई स्याहार गर्नुपर्ने, पुरुष नै घरको मुली हुनुपर्ने इत्यादि कुराहरुमा खै त आधुनिकता ? ल्याउनु पर्याे नि होइन त ।

अझै पनि छोरी जन्मिदा पुर्पुरोमा हात राख्ने र नारीलाई मेशीन ठानेर संतानको लाइन लगाउने परम्पराको अंतका लागि खै आवाज ? एतिमात्र कहाँ हो र ! हजारौ पैसा खर्चिए गर्भमा नै गैरकानुनी भ्रुण परिक्षण गराउने र छोरी भएमा गर्भपतन अनि  यदि छोरो छ भने बेबी शोवर गरेर सामाजिक संजालमा उत्पात मचाउँदै आफ्नो बहादुरीको प्रदर्शन गरि आधुनिकताको नाम दिने । आधुनिकता ल्याउने यदि सोच नै छ भने आफ्नो घरको पुरुषहरुको सोचमा आधुनिकता ल्याउनु पर्याे ताकि छोटो पहिरणमा कुनै बालिका वा नारीहरु  निस्कँदा गलत नजरको सोचमा नपरियोस् साथै बलात्कार जस्तै अप्रिय घटनाको शिकार बन्न नपुगोस् होइन त ?

आधुनिकता ल्याउनु नै हो भने सुरक्षित मातृत्व कसरी गराउन सकिन्छ साथै आमा र बच्चाको मृत्युदरलाई कसरी घटाउन सकिन्छ त्यसतर्फ ल्याउने हो कि ?आधुनिकता दाइजोका विरुद्ध, दिनहुँ जसो घट्ने  घरेलु हिंसाको विरुद्ध, बालिका साथै नारी शिक्षाको पक्षमा ,  नारी पुरुष समान हुन् भन्ने कुरामा ल्याउनु पर्याे  । न कि आधुनिकताको नाममा एक दुइ जना सेलिब्रेटिका पछि लागेर हाम्रो देशका संस्कार, संस्कृति, परम्परा, मुल्य मान्यताहरुको घाँटी निमोठिने जस्ता ‘ समाजलाई अपाच्य हुने र नारीलाई स्वम् लज्जित बनाउने कुराको पक्षमा वकालत गरेर होइन।

अन्त्यमा, नेपाली सिनेजगतकी परिचित नायिका प्रियंका कार्कीलाई यस व्यस्क उमेरमा मातृत्वको सुखद अनुभती लिन पाइएकोमा हार्दिक बधाई । तर आधुनिकताको नाममा यसरी नेपाली समाजलाई अपाच्य हुने कार्य जसले नारीको महत्तालाई पैतालामा पुर्याउने काम गर्छ र नारी स्वम् लज्जित हुन पुग्छिन् नगर्न अनुरोध । यदि तपाई नारी स्वतन्त्रता चाहनु हुन्छ वा सोको पक्षमा वकालत गर्न चाहनु हुन्छ भने धेरै कामहरुको पहल बाँकी नै छ । साथै नायिकालाई बोलेर वकालत गर्नेहरुलाई पनि मेरो सुझाव ,वास्तविक रुपमा यदि तपाई सर्पाेट वा वकालत गर्नुहुन्छ भने बोलेर होइन गरेर देखाउनुस…………..अग्रिम शुभकामना तपाईहरुलाई पनि ।

(विशेष धन्यवाद छ आदरणीय गुरु प्रा.डा.टंकप्रसाद न्यौपाने ज्युलाई यस लेखमा आवश्यक व्याकरणात्मक सहयोग गरिदिनु भएकोमा)

सम्बन्धित खवर

समाचार