Logo

इटहरी रङ्गशालामा रहेको ५० शैयासहितको आइसोलेसन सेन्टरको तयारी लगभग सम्पन्न

प्रभात खबर २१ बैशाख २०७८, मंगलवार १९:०४ मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख २१
इटहरी उपमहानगरपालिकाद्वारा सञ्चालित हुन लागेको ५० शैयासहितको आइसोलेसन सेन्टरको तयारी लगभग सम्पन्न भएको छ । इटहरी वडा नं. ९मा रहेको इटहरी रंगशालामा गत वर्ष कोभिड १९ का लागि तयारी गरिएको आइसोलेसन सेन्टर यस वर्ष पनि सञ्चालनमा आउने भएको छ ।

कोभिडको दोस्रो लहरको नयाँ भेरियन्टबाट विश्व पुनः मारमा परिरहेको साथै नेपालमा पनि यसको प्रभाव देखिएको हुनाले नेपाल सरकारको तीन तहबाट यसका विरुद्ध तयारी शुरु भएको हो।यसै सन्दर्भमा इटहरी उपमहानगरपालिकाद्वारा गत वर्ष सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टर यस पटक पनि प्रयोगमा ल्याइने भएको छ ।र सोका लागि लगभग तयारी सम्पन्न भइसकेको आइसोलेसन सेन्टरको तयारीमा खटिएका इटहरी ९ निवासी साथै यस आइसोलेसनका सहयोगी केदार घिमिरेले जानकारी दिएका छन् ।


महिला संक्रमित र पुरुष संक्रमित दुवैका लागि बेग्लाबेग्लै ब्लकहरुको व्यवस्था गरिएको छ ।महिला संक्रमितहरुका लागि २० शैयासहितको ब्लक जसको तयारी सम्पन्न भइसकेको छ भने पुरुषहरुका लागि ३० शैयासहितको ब्लकको तयारी भोलिसम्म सम्पन्न हुने जानकारी घिमिरेले दिएका छन् ।संक्रमितहरुका आवश्यक सामाग्री सहित स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ, खानपानको सुविधा उपमहानगरपालिकाले गरेको छ । अति जटिल अवस्थाका कोरोना संक्रमितहरुका लागि आक्सीजन सिलिण्डर सहित ६ शैयाको बेग्लाबेग्लै महिला(३) र पुरुष(३)ब्लकको समेत व्यवस्था उपमहानगरपालिका इटहरीले गरेको छ ।


संक्रमितहरुको हेरविचारका लागि २४औं घण्टा हेरचार र सेवा पु¥याउन २ जना डाक्टर शिवकुमार झा, ल्याब टेक्नीसियन शैलेन्द्र भगत सहितका स्वास्थ्यकर्मीहरुको व्यवस्था गरिएको छ । कोरोना संक्रमितहरुको पिसिआर विधिबाट परिक्षणको थालनी आजबाट भएको जानकारी आइसोलेसनमा खटिएका डाक्टर शिवकुमार झाले बताए ।गत वर्ष पनि क्वारेन्टाइन र आइसोलेसनमा खटिसेकका डाक्टर झाका अनुसार आज मंगलवार ४८ जनाको स्वाब संकलन गरि इटहरी उपमहानगरपालिकाले व्यवस्थापन गरेको विराटनगर प्रदेश जनस्वास्थ प्रयोगशाला मा पठाइएको र जसको परिक्षण रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने बताएका छन् । कोरोना संक्रमणका कारण हुने बढ्दो संक्रमणको दर साथै मृत्युदर घटाउन एन्टिजन टेस्टभन्दा भरपर्दाे पिसिआर टेस्ट रहेको थप जानकारी डाक्टर झाले दिएका छन् ।
इटहरी उपमहानगरपालिकाले इन्जिनियर जीवन घिमिरे साथै सामाजिक विकास शाखा अन्तर्गतका महेश सुवेदीलाई आइसोलेसन को रेखदेखका साथै भौतिक संरचना निर्माणको जिम्मा दिएको छ । इटहरी रंगशालामा रहेको आइसोलेसनको शान्ति सुरक्षाका लागि पुर्वी पृतनाको सहयोगमा इटहरी उपमहानगरापालिकाले १० जना सैनिक टोलीको समेत व्यवस्था गरेको छ भने संक्रमितहरुको ओसारपसारका लागि २ वटा सुविधासम्पन्न एम्बुलेन्सको समेत व्यवस्था गरिएको जानकारी इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

समाचार