Logo

इटहरीवासीलाई आक्सीजन सिलिण्डरका लागि निश्चिन्त हुन उपमेयर गौतमको आग्रह

प्रभात खबर २२ बैशाख २०७८, बुधबार १९:४२ मा प्रकाशित

कृष्णकला राई
इटहरी,वैशाख २२
बढ्दो कोरोनाको नयाँ लहरले पूरै विश्व नै पुनः प्रभावित बनेको अवस्थामा नेपालमा पनि दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको हामी देख्न सक्छौं । यस बाट इटहरीवासीहरु पनि प्रभावित बनेका छन् । आउने दिनहरुमा संक्रमणको जोखिम बढ्न सक्ने भएकाले इटहरी उपमहानगरपालिकाले पनि ५० शैयाको आइसोलेसन सेन्टर र ६ शैयाको कोभिड अस्पताल अहिलेको लागि संचालनमा ल्याएको छ ।
यसै क्रममा संक्रमितहरुका लागि आक्सीजनको उपलब्धता के कति छन् भनि इटहरी उपमहानगरपालिका की उपमेयर लक्ष्मी गौतमको अगुवायीमा इटहरी अस्पतालका प्रतिनिधि रामकुमार धमलासहितको अनुगमन टोलीले बुधवार इटहरीको वडा नं. १० र वडा नं. १३ मा संचालित क्रमशः दुर्गा आक्सीजन उद्योग र पाथिभरा आक्सीजन उद्योगको अनुगमन गरेको छ ।


प्रदेश १ मा जम्मा ५ वटा आक्सीजन उद्योग संचालनमा रहेका छन् जसमध्ये २ वटा दुर्गा आक्सीजन उद्योग र पाथिभरा आक्सीजन उद्योगहरु इटहरी उपमहानगरपालिकामा र १ दुहबी नगरपालिकामा संचालित छन् । अनुगमनको क्रममा उद्योग संचालकहरुले इटहरीमा कोरोना संक्रमितहरुको लागि आवश्यक जति संख्यामा आक्सीजन उपलब्ध गराउन सक्ने जानकारी दिनका साथै अहिले कोराृेना संक्रमणको डरका कारण सामान्य मानिसहरुले समेत घरमा सिलिण्डर रिर्जभ गरि राख्ने भएकाले समस्या आउन सक्ने गुनासो राखेको उपमेयर लक्ष्मी गौतमले बताउनु भयो ।

फोन सम्पर्कमा उपमेयर गौतमले उद्योगीहरुले इटहरीवासीहरुलाई आवश्यक पर्ने जति आक्सीजन सिलिण्डर उपलब्ध गराउन सक्ने क्षमता उद्योगहरुको रहेको साथै प्रत्येक दिन कम्तीमा पनि १०० जति सिलिण्डर इटहरीका लागि स्टकमा राखि अन्यन्त्र आपूर्ति गर्न उद्योगीहरुलाई आफूले अनुरोध समेत गरेको बताउनु भयो । साथै बढ्दो सक्रमणको जोखिमबाट इटहरीवासीहरुलाई नडराउन र उपमहानगरपालिकाले समन्वय गरि आफ्नो इटहरीवासीहरुलाई आवश्यक जति संख्यामा आक्सीजन उपलब्ध गराउन सक्ने भएकाले निश्चिन्त रहन आग्रह समेत गर्नुभएको छ ।


आइसोलेसनको सम्बन्धमा इटहरी रंगशालामा संचालन ह्ुन लागेको ५० शैयाको आइसोलेसन सेन्टर र ६ शैयाको कोभिड अस्पतालको काम लगभग सम्पन्न हुन लागेको र छिट्टै संचालनमा ल्याउने जानकारी उपमेयर गौतमले प्रभात खबरलाई दिनुभयो ।

सम्बन्धित खवर

समाचार