Logo

एउटा कथा चियाको कपमा

प्रभात खबर ३० आश्विन २०७८, शनिबार २०:४५ मा प्रकाशित

कृष्णकला राई,
इटहरी, असोज ३०
चिम्से आँखा अनि अघिल्तिर एप्रोनले ढाकिएको पातलो जिउ । कहिले चिया नास्ता पकाउदै त कहिले सर्व गर्दै । निकै व्यस्त एक युवा । इटहरी रंगशालाको मुखैमा रहेको सानो क्याफे । क्याफे डी स्टेडियम नामक क्याफेका संचालक सन्तोष राई ।
ह्जुर यो आलेख उनै युवा सन्तोषको दैनिकी र जीवनचर्यमा केन्द्रित छ ।सन्तोष काममा जति लगनशील छन् उनको क्याफे पनि उत्तिकै कलात्मक । अझ भनौ सिर्जनात्मक । स्वादिलो मट्का चिया जस्तै सिर्जनशील साजसज्जा । खेर जाने टायर र टीनको सदुपयोग गर्दै बनाइएका टेवुल र टूल ।सन्तोषको विगत अहिले उनको क्याफेमा पाक्ने मेनु जस्तै स्वादिलो र सहज थिएन । स्वदेश र विदेशको भुमिमा समेत अनेक हण्डर खाइसकेका सन्तोषको विगत निकै नमिठो थियो । दुखका अनेक पहाड खनेका सन्तोषको व्यवशायलेअहिले भने खुट्टा टेक्न सकेको छ । क्याफे डी स्टेडियमको सानो सफलताले उनी स्वयं पनि आफ्नै मेहनतको पसलमा सगरौव स्वतन्त्ररुपमा उभन सफल भएका छन् । परिवार र जीवन धान्न वैदेशिक रोजगारीमै जाने धेरै नेपाली युवा छन् । तर विदेशमा गएर पसिना बगाउने नेपाली युवाको धारणा र अनुभुतिलाई ३७ वर्षीय सन्तोषले सहजै गलत सावित गरिदिएका छन् ।
२०४१ साल असार १७ गते बुवा महेश कुमार राई र आमा राम कुमारी राईका माइला सन्तानका रुपमा इटहरी वडा नं। ४मा सन्तोष राईको जन्म भयो । सामान्य शिक्षा आर्जन गर्दे युवा अवस्थामा प्रवेश गर्दा केही गरौ भन्ने सोचका साथ २०६८ सालमा इटहरी उपमहानगरपालिकाको गेट अगाडि साझेदारीमा एक क्याफे सञ्चालन गरे । रु ३ लाखको लगानी र भाडा १४ हजार मा सञ्चालन गरेको साझेदारी व्यवसाय खासै जमेन । घरबाट भाडा तिर्नुपर्ने अवस्था आएपछि राईले साझेदारी छोड्ने निर्णय गरे ।
पुनः बेरोजगार भएपछि ठुल दिदीको सहयोगमा वैदेशिक रोजगारका लागि उनी काठमाडौंतिर कुदे। काठमाडौंमा वसेर वैदैशिक रोजगारीको पहल संगसंगै उनले ६ महिने कुक तालिम समेत लिन भ्याए । दुबइको भिषा लागेपछि नयाँ जोशका साथ मातृभुमिलाई छाडेर ठुलो सपना बोकी विदेशी भुमिमा आफ्नो श्रम र पसिना बगाउन उनी त्यसतर्फ लागे । २९ महिनाको संघर्षपुर्ण जीवन बिताएपछि कहिले फर्केर विदेश नजाने भनि निधो गर्दै उनी स्वदेश फर्किए । स्वदेश फर्केपछि फेरी सन्तोष बेरोजगार बने । तर यसपटक जे भएपनि थोरै तर आफ्नै लगानीमा नै व्यवसाय गर्छु भन्ने निधोका साथ लगातार दुइ वर्षसम्म उनले फिल्ड स्टडी मात्र गरे ।
यसै क्रममा इटहरी रंगशालाको पेरिफेरीमा संचालित एक खाजा घर बिक्रीमा छ भन्ने सूचना पाएपछि सन्तोषले सो खाजा घरलाई फरक ढंगले सञ्चालन गर्ने सोचका साथ लगभग २ लाखको लगानीमा खाजा घर किने ।
सन्तोषको क्याफे डी स्टेडियम र आम्दानी
वास्तवमा सन्तोषको क्याफे अहिलेसम्म इटहरीमा सञ्चालित धेरै जसो क्याफेहरुभन्दा फरक छ । एउटा सानो शटरमा संचालित क्याफे स्टेडियमको फरकपनकै कारण धेरैको ध्यानाकर्षण गरेको छ । यहाँ खेर जाने सामान जस्तै फयाँकेका टायरलाई फरक ढंगले नयाँ रुप दिइ आउने ग्राहकहरुका लागि बस्ने मुडा, कुर्सी र टेबल बनाइएको छ । त्यसैगरि यहाँ विभिन्न जातजातिको संस्कृति झल्किने विभिन्न पारम्परिक सामानहरुको प्रयोग गरिएको सहजै देख्न पाइन्छ ।यहाँको विशेष खानेकुराहरुमा मटका चिया र आलुपराठा रहेको छ । पर्यावरणलाई समेत असर नपर्ने सामानको प्रयोग नै मुख्य आकर्षण यस क्याफेको रहेको छ ।यहाँ साना मटकामा चिया सर्भ गरिन्छ भने सालको पातको रेडिमेट टपरीहरुमा अन्य खानेकुराहरु पस्किने गरिन्छ । यस क्याफेमा राईसंगे सहयोगीका रुपमा उनकै गाउँले भाइ छन् । सबै खर्चहरु कटाएर राईले मासिक ३० देखि ३५ हजार कमाउने गर्छन् ।
क्याफेमा आउने ग्राहकहरु
सन्तोषको क्याफे इटहरी रंगशालाको पेरिफेरिमा साथै छेउमा कलेज पनि संचालित भएको कारण धेरैजसो खेल सम्बन्धित आगन्तुकका साथै कलेजका विद्यार्थीहरु नियमित ग्राहकहरु हुन् ।
सन्तोले सामना गरेका समस्याहरु
क्याफे संचालन गरेको एक हप्ता नबित्दा कोभिडको पहिलो लहरको मारले पुनः निराशातर्फ धकेलो तितो अनुभव सुनाउँछन् राई । जेन तेन संचालन गर्दे आइरहेको क्याफेमा आफुलाई विभिन्न राजनीतिक दलका नेता बताउनेहरुले उधारो खाएर दुख दिने गरेको उनी बताउँछन् ।
खुशीका अनुभवहरु
आफुकहाँ आउने ग्राहकहरुमध्ये कतिपयले आफुसंग क्याफे सञ्चालन बारे आइडिया लिने र धेरैजसोले क्याफे संचालन समेत गरिसकेको हर्षका साथ उनी बताउँछन् ।एक पटक आइसकेका र बेग्ले अनुभुति लिइसकेका ग्राहकहरु फेरिफेरि आउने गरेको राई बताउँछन् ।
अन्य युवाहरुलाई सन्तोषको सन्देश
आफुले भोगेको बेरोजगारीे साथै वैदेशिक रोजगारीको अनुभवलाई लिएर राईले नेपाली युवाहरुलाई विदेश त जानुपर्छ तर विदेशी भुमिभन्दा आफ्नो माटोमा रमाउनुको बेग्ले मज्जा हुने बताउँछन् । केही गर्न आफुसंग दृढ संकल्प , लगनशीलता, र परिश्रम गर्ने खुबी हुनु जरुरी उनी बताउँछन् ।
वास्तवमा, बेरोजगारीको समस्यालाई सामना गर्दे केही गर्नुपर्छ भन्ने लाखौं युवाहरुका लागि एक उदाहरणीय पात्र बनेका छन् सन्तोष राई । मनमा केही गर्ने दृढ संकल्प भए यही देशको माटोमा श्रम र पसिना बगाइ केही गर्न सकिन्छ भन्ने दहो उदाहरण बन्न सफल युवा सन्तोष राईको दिगो प्रगतिको कामना prabhaatkhabar.com को तर्फबाट ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार