कृष्णकला राई
इटहरी, कार्तिक ५,
रातीको लगभग साढे ८ बजेको छ । म काम विशेषले इटहरी चोकमा पुगेको छु । मसंग एकजना साथी पनि छन् । उनी फलफूल किन्ने काममा अल्लमलिएका छन् । म स्कुटी साइड लगाएर साथीलाई पर्खिरहेको छु । त्यसै बेला हातमा चटपटे लिएर खाइरहेकी महिलामा मेरो नजर पर्छ । सिटी चालक सिटमा बसेकी एक महिला । कालो वर्ण । अधवैशे उमेर ।
फिका मुहार । रात छिप्पिनु अघि घर पुग्ने हतारो । उनको मुहारले दुखका धेरै कथा बताइरहेको छ । म एक निमेष उनलाई हेरिरहेको छु । उनीप्रतिको अनेक अडकलवाजी र तर्कनाले मेरो मन तरंंगीत छ । मनमनै सोच्दैछु । यति राती पनि यात्रुको पर्खाइमा उनी चोकमा छिन् । शायद दिनभरको गर्मी, थकान र भोक मेट्न अमिलो र पिरो चटपटेको साथ लिएकी छिन् । उनीप्रतिको कौतहुलताले मेरो मनलार्इ रोक्न सकेन । म नजिक गएर कुराकानी शुरू गर्छु । मुसुक्क हाँसिन् र आफ्नो परिचय दिन थालिन् । अव शुरू भयो चटपटेमा निचारिएको कागती जस्तै अमिलो उनको जीवन कथा ।
उनको नाम शान्तीदेवी मुखिया । उमेरले हेर्दा३० वा ३२ वर्ष की । श्रीमानसंग डिभोर्स भइसकेको । एउटा छोरी जसको बिहे भइसकेको रहेछ । अर्को छोरा भर्खर १४ वर्षको । मैले पनि आफ्नो परिचय दिँदै उनको सम्पर्क नं. मागे । अनि उनको अनुमति लिँदै एउटा तस्वीर पनि लिए । लगभग उमेरले ३० वा ३२ पुगेकी शान्तीको जन्म बिराटनगरको भाटीगंजमा भएको रहेछ । बुबा चलित्तर सहनी र आमा सावित्री सहनीको जेष्ठ संतानको रुपमा जन्म भएको थियो । उनको जीवनको संघर्ष १३ वर्षको उमेरबाटै शुरू भयो । जव उनको बालविवाह भयो । आमाको स्वास्थ्य निकै खराब भएकोले १३ वर्षको कलिलो उमेरमा शंकर मुखियासंग बाल विवाह जस्तो कुरितीमा उनी बाँधिन पुगिन् ।
एक त अक्षर नचिन्ने त्यसमाथि मधेशी समुदायको युवती । नेपाली भाषा पनि नबुझ्ने शान्तिदेवीले घरपरिवारमै अनेक यातना सहिन् । हरेक कुरामा सासु , आमाजु र जड्याह श्रीमानको दिनहुँ गाली गलौज र मारपिट सहनुपर्ने कष्टकर समय । कहिलेकाँही त आमाजुले कुटपिट गर्दे आफुलाई अर्धनग्न अवस्थामा समेत पु¥याएको तीतो कथा आँखाभरि आँशु पार्दै सुनाइन् । उनको कथा सुन्दै गर्दा मेरो पनि आँखा त्यसै त्यसै रसाए ।
बालविवाह भएकी शान्तिदेवीले १५ वर्षको कलिलो उमेरमा ठुली छोरीलाई जन्म दिइन् । त्यसको ४ वर्षपछि दोस्रो संतानको रुपमा छोरोलाई जन्म दिइन् । कलिलो उमेरमा आमा बनेकी शान्तिदेवीलाई आराम कहिले भएन । नानीलाई ठेलामा राखेर खाजा नाश्ता र कहिले चटपटे बेच्न थालिन् । कहिले फलफूल त कहिले बादाम बिक्री गर्ने काम गरिन् । जीवनका संघर्षसंग कहिल्यै हार मानिन। तर जड्याह श्रीमान्ले उल्टै जेनतेन कमाएको पैसा रक्सीमा उडाइदिने र शारिरिक र मानसिक पिडा दिने । सडकको दुख र घरको परिस्थिति । शान्तिदेवीको जीवनमा दुखको पहाड अग्लिदै गयो ।
नेपालमा श्रीमानले केही गर्ने छाँटकाँट नदेखेपछि अढाई लाख ऋण काढेर वैदेशिक रोजगारीमा पठाउने पहल गरिन् । विदेश गएपछि उनका श्रीमान्ले कमाएको धनले १० धुर माटो त जोडे तर शान्तिदेवीको नाममा नभएर आमाज्युको नाममा । तैपनि उनी चुप नै बसिन् । त्यतिमात्र कहाँ हो र वैदेशिक यात्राका लागि काढेको ऋणको आधा भाग शान्तिदेवीले आफैले तिरिन् । श्रीमानसंगको वैवाहिक सम्बन्धमा तीतोपना बढ्न थालेपछि ९ वर्षकी छोरा र ५ वर्षको छोरालाई काखमा च्यापि उनी श्रीमानबाट अल्गिन पुगिन् ।
सिटी चालक कसरी बनिन्
सुनसरीको झुम्कामा सिटी चलाउने उनी एकमात्र महिला सिटी चालक हुन् । श्रीमानसंग डिभोर्ष भएपछि उनले सर्वप्रथम आफुलाई सशक्त बनाइन् । आफु संतानको लागि बाँच्नुपर्छ भनेर एक अठोटका साथ सिटी चलाउन सिक्न थालिन् । शुरुमा उनलाई लाज लागेतापनि आफ्नो विगतको दिनमा आफुले ठेला समेत चलाएको र त्यो अवस्थाभन्दा सिटी धेरै राम्रो र सहज हुने भएकाले उनको लाज शक्तिमा परिणत भएको बताउँछिन् । ३ वर्ष दिनको ५ सय भाडामा उनले सिटी कुदाइन भने पछि रु ५० हजारमा पुरानो सिटी आफ्ने स्वामित्वमा लिएर चलाउँदै आएकी छिन् ।
ट्राफिक प्रहरीप्रति धारणा
कुनै कुनै ट्राफिक प्रहरीहरुले चाबी खोसेर दुख दिने गरेको तर कतिपयले समस्या र व्यथा बुझेपछि केही नगर्ने र छाडी दिने गरेको उनी भन्छिन् । शुरुशुरुमा त ट्राफिकले छोरी मान्छे भएर सिटी कुदाउने भनी परिहास गर्दा हिम्मत जुटाएर आजको समयमा छोरीमान्छेले प्लेन त उडाउने गरेको भनि जवाफ समेत दिएको तीतो अनुभव आफुसंग रहेको उनी बताउँछिन् ।आफु केही नपढेको हुनाले आफुले लाइसेन्स समेत निकाल्न असफल रहेको उनी बताउँछिन् ।
यात्रुहरुको प्रतिक्रिया
आफ्नो सिटीमा सवार हुने अधिकांशले महिला भएर किन सिटी चालक बनेको भन्ने विषयमा आप्mनो कथा व्यथा सुनाउँदा प्रशंसा गर्ने र कहिलेकाँही आप्mनो इच्छाले बढी भाडा दिने गरेकोमा आफुमा थप उर्जा थपिने उनी बताउँछिन् ।
डिभोर्सपछि जोडेको सम्पत्ति
अहिले उनीसंग ६ धुर माटोमा ४ कोठे निर्माणाधिन घर रहेको छ । फाइनान्सबाट ऋण काढेर र आफुले अलि अलि जमा गरेको पुँजी जम्मा १८ लाखमा उनको ४ कोठे निर्माणाधिन घर रहेको छ ।
पुरुषबिनाको जीवनबारे उनी के भन्छिन्
घरमा पुरुष नहुँदाको पिडाभन्दा आफ्नो श्रीमान् हुँदाको पिडा धेरै नै दर्दनाक रहेको कारण अहिलेको अवस्था धेरै सामान्य जस्तो लाग्ने उनी बताउँछिन् ।आफ्नो श्रीमानले तातो भात जीउमा फालिदिएको त कहिले तातो चीजले आफ्नो शरीर डामेको र कैदी सरह यातनापूर्ण जीवन बिताएको तीतो र पिडादायक जीवनभन्दा बरु अहिलेको जीवन सामान्य रहेको उनी भन्छिन् ।
एकल भएपछिको समस्या
श्रीमानले छोडेको थाहा पाएपछि कतिपय पुरुषहरुले आफुलाई जिस्काउने त कतिपयले फकाउने गरेको उनी बताउँछिन् । तर साहस गरि आफु पसिना बगाएर कमाउन आएको भनी जवाफ दिँदा शान्तीदेवीलाई छुच्ची आइमाइ भनि सम्बोधन गर्ने गरेको उनी बताउँछिन् ।
लकडाउन जीवन
लकडाउन हुनु अघि घर बनाउँदै गरेको तनाव त्यसमाथि लकडाउन शुरु भएपछि जीवन जीउन गाहो भएको तर छिमेकी समिता बस्नेतले विश्वासमा खानेकुराको जोह गरिदिएकोले खासै अप्ठायारा नपरेको उनी सुनाउँछिन् ।
महिला दिदी बहिनीहरुलाई सन्देश
महिलाहरुले कमजोर परिस्थितीमा आफ्नो श्रीमान् को साथ छोडनुहुन्न भन्छिन् । तर आफु जस्तै दुख पाएको अवस्थामा कमजोर बन्न नहुने र पुरुषको पैताला मुनि नभइ पुरुषहरुलाई गरेर देखाउनुपर्छ भन्ने सन्देश दिन चाहन्छिन् शान्ति देवी । विगतमा साडी र घुम्टोमा जीवन बिताउन बाध्य शान्तिदेवी अहिले निकै नै फरवार्ड भएकी छिन् । प्रत्येक दिन उनी १० वा ११ बजे आफनो घरबाट सवारीको खोजीमा झुमका चोक आउने र राति ९ बजेको आसपास घर फर्किने गर्छिन् उनी । दैनिक हजार बाहृ सय आम्दानी हुने र कहिलेकाँही बढी पनि हुने उनी बताउँछिन् । यहि सिटीबाट हुने आम्दानीबाट मासिक २२ हजार किस्ता सहजै तिर्नै गर्छिन् उनी । उनले कान्छो छोरालाई स्थानीय अंग्रेजी माध्यमको विद्यालयमा पढाउँदैछिन् । आफु मधेशी समुदायबाट भएकाले पहिलेभन्दा मधेशी समुदायको सोचमा परिवर्तन आइसकेको र आफ्नो समुदायका मानिसहरुले समेत प्रशंसा गर्ने गरेकोमा खुशी प्रकट गर्छिन् शान्ती देवी। यसरी लामो समयदेखी आफ्नो श्रीमान् र आमाज्युबाट शारिरिक मानसिक यातनालाई सहँदै आएकी शान्तीदेवीले जुन साहस देखाइन् वास्तवमा प्रशंसायोग्य हो । शान्तीदेवी जस्तै हजारौं महिलाहरुका लागि उनी एक उदाहरणीय पात्र हुन् । शान्तीदेवी मुखियाको यस साहसिक कदमका लागि https://prabhaatkhabar.com प्रभातखबर डट कमको तर्फबाट नमन् ।