Logo

पचिरा एफ.सी. ट्रफी चुम्न सफल

प्रभात खबर १५ कार्तिक २०७८, सोमबार २१:३१ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, कार्तिक १५
युथ ११ एफ.सी. दुहबीको आयोजनामा प्रथम नक आउट खुल्ला फुटबल प्रतियोगिता, २०७८ को सोमबार भएको फाइनल खेलमा बसन्तपुर एफ.सी.लाई शानदार २ गोलले पराजित गर्दै पचिरा एफ.सी. ट्रफी चुम्न सफल भएको छ ।


शुक्रवार भएको पहिलो सेमीफाइनल खेलमा सृजनशील युवा क्लब दुहबी—६लाई २—१ को गोल अन्तरले पराजित गर्दे पचिरा एफ.सी.ले फाइनल खेलमा प्रवेश गरेको थियो भने शनिवार भएको दोस्रो सेमी फाइनल खेलमा नवयुवा क्लब सुकचरलाई पेनाल्टी सुट आउटमा ३—२ को गोल अन्तरले पराजित गर्दे बसन्तपुर एफ.सी.ले फाइनल प्रवेश गरेको थियो ।


आज सोमबार भएको फाइनल खेल निकै नै प्रतिस्पर्धात्मक रहेको थियो ।खेलको पहिलो हाफसम्म दुवै टिमको तर्फबाट कुनै गोल हुन सकेको थिएन । खेलको दोस्रो हाफ ११औं मिनेटमा पचिरा एफ.सी. का खेलाडी जर्सी नं.८ टिम कप्तान श्रवण गच्छदारले पहिलो शानदार गोल गर्दे आफ्नो टिमका लागि खाता खोल्न सफल भएका थिए । त्यसैगरि दोस्रो हाफको ३० औं मिनेटमा पचिरा एफ.सी. का खेलाडी जर्सी नं. ७ हर्षित माझिको कर्नर बललाई जर्सी नं. ३ धिरज चौधरीले दोस्रो गोलमा परिणत गर्दै आफ्नो टिमलाई अग्रता दिलाउन सफल भएका थिए । खेलको निर्धारित समयावधि समाप्तिसम्म बसन्तपुर एफ.सी.को तर्फबाट भने कुनै गोल हुन सकेको थिएन ।


फाइनल खेल अवधिभर राम्रो खेल प्रर्दशन गरेबापत पचिरा एफ.सी.का खेलाडी जर्सी नं. २३ श्याम चौधरी म्यान अफ दी म्याच घोषित भएका थिए। प्रथम नकआउट खुल्ला फुटबल प्रतियोगिता २०७८ को सर्वाेत्कृष्ट खेलाडीमा पचिरा एफ.सी.का टिम कप्तान श्रवण गच्छदार, बेस्ट डिफेन्समा बसन्तपुर एफ.सी. का टिम कप्तान , सर्वाेत्कृष्ट गोल रक्षकमा पचिरा एफ.सी.का गोल रक्षक रबिन चौधरी, साथै बेस्ट मिड फिल्डरमा पचिरा एफ.सी.का खेलाडी जर्सी नं. ७ हर्षित माझी घोषित भएका हुन् ।


विजयी टिम पचिरा एफ.सी.लाई प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले ट्रफी, मेडल र नगद पुरस्कार रु २५ हजार हस्तान्तरण गरेका थिए भने उपविजेता बसन्तपुर एफ.सी.लाई दुहबी नगरपालिकाकी उपमेयर सुनीता दाहाल शाहले ट्रफी, मेडल र नगद पुरस्कार रु १५ हजार हस्तान्तरण गरेकी थिइन् ।


पहिलो पटक आयोजित यस प्रथम नकआउट खुल्ला फुटबल प्रतियोगिताको आयोजना युथ११ एफ.सी. ले गरेको थियो भने दुहबी नगरपालिका वडा नं. ५ ले यस प्रतियोगितालाई संयोजन गरेको थियो।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार