Logo

चार किरात समुदायको वृहत साँस्कृतिक कार्यक्रम इटहरीमा हुने

प्रभात खबर २७ असार २०७९, सोमबार २२:४८ मा प्रकाशित

इटहरी, असार २७
कृष्ण कला राई
नेपाल एक बहुभाषिक, बहुसाँस्कृतिक , बहुधार्मिक, एवम् बहुजातिय देश हो । प्राकृतिक सम्पदाले धनी हाम्रो देशका विभिन्न भुगोलहरुमा बसोबास गर्ने किरात समुदाय पनि एक हो । विशेषतः कुरा गर्ने हो भने प्रदेश नं. १ मा किरात समुदायहरुको बाहुल्यता पाइन्छ । चार किरात भनि चिनिने राई, लिम्बू, याक्खा र सुनुवार आदिको मुख्य बसोबास गर्ने थलो प्रदेश नं. १ लाई मानिन्छ ।


विशेषगरि प्रदेश १ मा बसोबास गर्ने आम किराती समुदायहरुलाई गोलबन्द गरि संस्कार, संस्कृति, भाषा र भेषभुषाको जर्गेना, संरक्षण, र विकास गर्न यीनै चार किरात भनि चिनिने चार किरात समुदायमा केन्द्रित भइ प्रदेश नं. १ सरकार अन्तर्गतको पर्यटन तथा साँस्कृतिक मन्त्रालयको आयोजनामा एक प्रदेश एक संस्कृति कार्यक्रमको आयोजना यही असार २९ र ३० गते इटहरीमा हुन गइरहेको छ ।


संघीय सरकारको सहयोगमा आयोजित दुई दिने यस विशेष कार्यक्रमको पहिलो दिन अध्ययन, अनुसन्धान र अभिलेखीकरण साथै एतिहासिक, पुरातात्विक सम्पदा , परम्परा र संस्कार र संस्कृतिको पहिचान र महत्वमा विशेष रुपले केन्द्रित रही चार किरात समुदायका विज्ञहरुबाट आ—आफ्नो कार्यपत्रहरु प्रस्तुति र व्यापक छलफलसहितको कार्यक्रम रहिने जानकारी नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष साथै यस कार्यक्रमका स्थानीय व्यवस्थापनका संयोजक राम कुमार माण्डुपाले दिएका छन् ।

कार्यक्रमको दोस्रो दिन चार किरात समुदाय लगायत आमले आ—आफ्नो भेसभुसा सहित आ—आफ्नो झाँकी प्रदर्शन गर्दे इटहरी चौकदेखी इटहरी वडा नं. ६ मा अवस्थित किरात राई यायोक्खा वडा समिति ६ को तायारिप्ची भवनको प्राङ्गणमा आएर टुङ्गिने साथै चार किरातहरुको विभिन्न मौलिक परिकार हरु जस्तै किरात राईको मौलिक परिकार वाचिपा यानि तिते, लिम्बूको याङमेन्, याक्खाको किनामा र सुनुवारको एरीका साथ फल्गी परिकारहरुका को प्रदर्शनी सहितको स्टल समेत राखिने जानकारी माण्डुपा राईले गराएका छन् ।
इतिहासमा नै पहिलो पटक चार किरात समुदायलाई एकै स्थानमा भेला गराइ आफ्नो ऐतिहासिक सम्पदा, संस्कार र संस्कृतिको पहिचान सहित संरक्षण र प्रर्वद्घनमा एकताबद्घ गराउने यस एक प्रदेश एक संस्कृति कार्यक्रमका मुख्य उद्देश्य रहेको छ ।

सम्बन्धित खवर

समाचार