कृष्णकला राई
इटहरी, श्रावण ७ । ७ वटा प्रदेशमध्ये ६ को नामाकरण भैसकेको र शीर्ष स्थानमा रहेको प्रदेश १ को नामाकरण अझैसम्म बाकी नै छ। प्रदेश १ को नाम यस भुभागमा प्राचीन कालदेखि बसोबास गर्दै आइरहेका बाहुल्यता भएका किरातीहरुको पहिचान यानी प्राचीन सभ्यता, र यस भुभागको भुगोल र इतिहासको आधारमा किरात प्रदेश हुनुपर्ने भन्ने कुराको मागसहित किरात राई यायोक्खा केकास लगायत ९ वटा संगठनले शुक्रबार संयुक्तरूपमा विज्ञप्ति जारि गरेको छ ।
पहिचान भेटिने द्वन्द मेटिने बहुपहिचानको आधारमा प्रदेश नामाकरण जस्ता नारामार्फत जनमतको कदर गर्न , राजनैतिक पार्टीहरुले विभिन्न समयमा पारित गरेको दस्तावेजको सम्मान गर्न र देशको विविधताको सम्बोधन गर्नका लागि पनि प्रदेश १को नामाङ्कणमा पहिचानलाई प्राथमिकता दिनुपर्नेमा उल्टै पहिचानलाई निस्तेज गरि अन्य नाम राख्ने कुरामा केही राजनैतिक पार्टीहरुले चलाइरहेको छलफल निन्दनीय भन्दै सबै सम्बन्धित प्रदेश सरकार, प्रदेश सभामा रहेका विभिन्न राजनैतिक पार्टीका संसदीय दलका नेताहरू, एवम् माननीयहरू लगायत सबैले यस विषयमा गम्भीरतापूर्वक छलफल चलाउन किरात प्रदेश नामाङ्कणमा सर्वसम्मत निर्णय गर्न जोडदार माग विज्ञप्तिमार्फत अाबद्ध ९ वटा संगठनले गरेका छन् ।यसरी किरात नामाङ्कण हुनुपर्छ भन्ने राखिएको माग विरूद्ध यदि कुनै कदम चालिएको खण्डमा किरात सभ्यताको जगमा प्रदेश १को नामाकरणका लागि जस्तोसुकै कदम चालिने चेतावनी सँगै सृजना हुने परिस्थितिका लागि विरोधी सबै राजनैतिक दलहरू एवम् सरोकारवाला सबै हुनेछन् भन्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
किरात राई यायोक्खा केन्द्रीय समितिको आव्हानमा साउन ८ गते विराटनगरमा १ नम्बर प्रदेशको नाम किरात हुनुपर्ने माग गर्दै विशाल प्रदर्शन गर्ने भएको छ ।
त्यसैगरि, किरात राई यायोक्खा सुनसरीको पहलमा शुक्रवार किराया भवनको सभाहलमा विभिन्न जनजातीय सङ्घ संस्थाका पदाधिकारीहरू सहितको संयुक्त बैठकले साउन ८ गते प्रदेश १ को संसद भवन अघि संसद बैठक चलिरहेको समयमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको जानकारी किराया सुनसरी अध्यक्ष राजेन्द्र राईले दिएका छन् ।