कृष्ण कला राई
इटहरी , श्रावण ७
१ नं. प्रदेशलाई किरात प्रदेश नामाङ्कन गराउने अभियान अन्तर्गत किराया केकासले शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा संग भेट गरि स्मरण पत्र बुझाउनुका साथै प्रदेश नामांकनको विषयमा षयमा छलफल गरेको छ ।
स्मरण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले किरात प्राचीन सभ्यता भएको र प्राचीन कालमा काठमाडौ उपत्यका लगायत धेरै ठाउँमा नदिहरूको नाम किरात रहेको बताउँदै काठमाडौ उपत्यकामा किरातहरूले लामो समय शासन संचालन गर्नका साथै सभ्यता संस्कृतिको विकास गरेको इतिहासमा उल्लेख रहेको बताए । छलफलमा, प्रधानमन्त्री देउवाले प्रदेश नामाङकनमा किरात उल्लेख गर्दा केही फरक नपर्ने र, पहिचानको आधारमा किरात नामांकन गर्ने कुरामा कांग्रेस सकारात्मक रहेको विचार राखेका छन् । त्यसैगरी, नेपाल सरकारको प्रवक्ता सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र कार्कीसंग पनि किराया केकासले भेट गरि विशेष छलफल गरेका छन् ।
भेटको अवसरमा किराया अध्यक्ष दिवस राई र उपाध्यक्ष जीवन हाताचो राइले किरात प्रदेश नामाङ्कन को औचित्य र आवश्यकता बारे विचार प्रस्तुत गरेका थिए ।
किरायाले प्रदेश नामांकन अभियान अन्तर्गत कुटनैतिक पहलकदमीका साथै दबाबमूलक अभियान निरन्तर जारी राखेको छ । यसै सन्दर्भमा २०७९ साउन २ गते मुख्यमन्त्री कार्यालय र प्रदेश सभा भवनको घेराउ गर्नुका साथ वृहत् मोटरसाइकल र्यालीको आयोजना र ३ गते विराटनगरमा किरात सभ्यता नामक पुस्तकको सार्वजनिकरण र प्राज्ञिक बहस साथै ६ गते सांस्कृतिक प्रदर्शनसहित प्रदेश सभा भवन घेराउको कार्यक्रम सम्पन्न गरेको छ । यसै क्रममा भोलि २०७९ साउन ८ गते अाइतबार विशाल जनमानस सहितको प्रदेश सभा भवन घेराउ गर्ने कार्यक्रम रहेको किराया केकासले जानकारी गराएको छ ।