कृष्णकला राई
श्रावण १४, इटहरी
किरात राई यायोक्खाको ३३औं एवम् किरात राई सुम्नीमा संघको १७औं स्थापना दिवसको अवसरमा किरात राई सुम्निमा प्राकास इटहरी ६ले रक्तदान कार्यकमको आयोजना गरेको हो ।
किराया वडा समिति इटहरी ६, किरात राई युवा संघ इटहरी ६ साथै किरात राई सुम्निमा संघको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा १०५ रक्तदाताहरुले रक्तदान गरेका थिए ।
हरेक वर्ष किरात राई यायोक्खाको एवम् किरात राई सुम्नीमा संघको स्थापना दिवसको अवसरमा किरात राई सुम्निमा प्राकास इटहरी ६ले किराया इटहरीसंग सहकार्य गरि निरन्तर रुपमा रक्तदान कार्यकम गर्दे आइरहेको छ । विगत दुइृ वर्ष कोबिड १९ का कारण रक्तदान कार्यक्रम संचालन गर्न नपाए पनि यस वर्ष पुन रक्तदान कार्यक्रम संचालन गरि किरात राई सुम्निमा संघले आफ्नो स्थापना दिवस मनाएको छ ।
उपचारको क्रममा कुनै पनि बिमारी रगतको अभावमा मृत्युको मुखमा नपुगोस् भनि आफ्नो संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष रक्तदान कार्यक्रम नियमित रुपले संचालन गर्दै आइरहेको संघका अध्यक्ष सुमित्रा राईले बताएकी छिन् ।
प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले अहिले सुनसरी जिल्लामा रगतको अभाव भइरहेको अवस्थामा यस प्रकारको रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलनमा खेलेको भुमिका निकै नै सराहनीय रहेको बताउँदै विगद वर्षमा कोविड १९का कारण कार्यक्रम आयोजना गर्न नपाए पनि आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत पुनः नियमित रुपले रक्तदान कार्यक्रमलाई संचालन गरि मानवीय सेवाको क्षेत्रमा आफ्नो संस्थाको सहभागितालाई निरन्तरता दिइरहन अनुरोध समेत गरे ।
किरात राई सुम्निमा संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समितिका अध्यक्ष राम माण्डुपा राई, किराया सुनसरी अध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष एवम् किरात सुम्निमा सघका पूर्व अध्यक्ष चन्द्रकला राई आदिले मानव जीवनमा रगतको महत्व बारे आफ्नो विचार प्रस्तुत गरेका थिए ।