Logo

मन्त्र र मर्म

प्रभात खबर २३ श्रावण २०७९, सोमबार १८:३२ मा प्रकाशित

बेनाम म
२३ श्रावण,२०७९
श्रावणको अन्तिम समय । वर्षाको बेला । तर विहानै आकाश खुलेको थियो । वसन्तका पालुवा गृष्ममा फक्रदै वर्षामा हलक्कै थिए । सूर्योदयको लालीमा मुस्कुराउँदै । आकाश खुलेपनि अनुहारभरि वादल थियो । अव्यक्त भावनाहरुको भुमरीमा त्रिकोण मनहरु वेचैन थिए । अशान्त मनहरुलाई अंश—अंश अश्रुले आश्वस्त पार्नुपर्ने अवस्था । विश्वासका शव्दहरुले बलियोसंग बाँध्नु र बाँधिनु पर्ने बाध्यता । हो, आज-हिजो जस्तो थिएन । वादल थिएन । वर्षा पनि थिएन । विहानै घमाईलो थियो । तर, अनुहारहरु भने कालो बादलले ढाकेको जस्तै मलिन थिए ।
नदेखेर छुट्टिनु सजिलो हुन्छ, जहाँ मान्छेमात्र छोडिएको हुन्छ । तर देखेर छुट्टिनु..उफ् भन्न सकिन्न मान्छेसंगै मन र मुटु पनि फाटेर धुजा-धुजा भए जस्तो । सिउनै कठिन मन, मुटु र मान्छे अब कहाँ र कसरी भेटिन्छन् होला भन्ने अनेकन् भावनाहरुको ज्वारभाटा मनभित्र उर्लिएको अवस्था  । ठाउँ छैन । ठेगान छैन । छ त एकमात्र आशा उफ् ।
               ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
              उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ।।
महामन्त्रको त्यो मिठो ध्वनि निरन्तर गुञ्जिरहेको छ । भनिन्छ, महामन्त्रको नियमित श्रवणले जस्तोसुकै कष्टबाट पनि मुक्ति मिल्छ । संजिवनी मन्त्रले शान्ति, सौभाग्य, सुरक्षा, सुख र सम्बृद्धी प्राप्त हुन्छ । दुर्घटना, दुर्भाग्य र सबै विपत्तीबाट बचाउँछ ।  साँच्चै सधै सबैलाई यस्तै  भइ रहोस् । देवाधीदेवसंग निरन्तरको प्रार्थना र कामना गर्छ यो व्याकुल मनले ।
घडिको सुई पनि कति छिटो चलेको । समयको गति पनि कस्तो तिव्र । कस्तो कुदेको । कसैले रोक्न नसक्ने । अनि मनभरी चलेको हुरीमा आफु आफुमात्र सम्हालिनु पर्ने उफ् । एक अर्कालाई आलिङगन गर्न नसकिने । कस्तो होला त्यो क्षण  । केहि बेर समय रोकिनु नि तर  समय रोकिएन । आकाशमा जहाजसंगै मन र मुटु पनि उड्यो । निलो आकाशको मन्द उड्दै गरेको त्यो सेतो बादलसंगै छलिदैं गयो । अनि उत्साह बिनाको आवाज आयो । सुन्ने र सुनिने दुवै मन्द र मलिन् । मुहार जस्तै मलिन् । पहिले जस्तो केही थिएन । न आवाज न अनुहार । केही हारेको जस्तो त केही पाएर गुमाए जस्तो । तर विश्वास र आत्मविश्वास अटल र अमर हुन्छ । त्यसैले                                                              
                  ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
                उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ।।
मृत्युसंग त विजय प्राप्त गर्न सकिन्छ भने बाँकी त के हो र, तर जीवन रहनु पर्छ, जीउनु पर्छ । निरन्तर बगिरहनु पर्छ । स्वच्छ नदीको बहाव जस्तै । कही र कहिले पनि धमिलो नहुने गरी । बस मनमा रही रहोस् एक—अर्काप्रतिको आशा, त्याग र विश्वास अटल ।।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार