आत्मकथा ः भाग(१)
बेनाम म
श्रावण, २७
आज श्रावणका चाडपर्वहरूको अन्तिम दिन, बिहानैदेखि मन व्याकुल भएको अवस्था । नलेखौं भन्दाभन्दै सुरुवात गर्न मन लाग्यो मेरा जीवनका केही अंशहरू आत्मकथास्वरूप । हरेक केटीको सपनाझै मेरा पनि केही मिठा सपनाहरू थिए होलान् तर ती सबै मनका कुनाबाट उब्जिएका सपनाहरूलाई त्यही मनका ढोकामा आमाबुवाका आशाको ताल्चा मारेर अन्ततोगत्वा व्यावहारिक ज्ञानलाई सँगसँगै लग्दै उच्च शिक्षाको प्राप्तिमा खट्दै गए बेनाम म । वैंसको वसन्त नआएको हैन मेरा जीवनमा ! त्यो कलिलो भर्खरै वैंसमा प्रवेश गरेका मनलाई मायाको फूल फुलाउन मन कहाँ नलागेको हो र ! उफ ! घरको कडा अनुशासित वातावरणका कारण मनमा फुल्न खोज्ने मायाका कोपिलाहरूलाई फुल्न नै नदिई घरको काम , र अध्ययनलाई सहज बनाउन गर्ने पार्ट टाइम जबमा बस रुमलिन थाले बेनाम म !
मध्यम वर्गीय परिवारमा जन्मिनु, त्यसमाथि घरको माइलो सन्तान र जेठी छोरी भनेर आफूलाई कल्पना गर्नुस् त के पाउनुहुन्छ तपाईले या भनौ कस्तो अनुभूति हुन्छ होला है ! हो, त्यही व्यवहारको बोझमुनि थिचिनुहुन्छ तपाई जसरी थिचिएँ बेनाम म ! जीवन चलिरह्यो, बस चलि नै रह्यो । त्यसैबिच नहुने दुर्घटना घट्न गयो । कालो बादलले हाम्रा पाँचजनाका परिवारलाई कसरी छोप्यो भने कहिले नफर्किने गरी एक्लो छोरा, त्यसमाथि घरको जेठो सन्तान अर्थात् मेरा दादालाई आफूसँग हामीबाट चुँडाएर लग्यो । हो, त्यो कालो बादल भनेको अहिलेका राजनेता भनाउँदा अर्थात् सोझा जनतालाई स्वतन्त्रताको, अधिकारको, समानताको आशा देखाउँदै दाजुभाइ दिदीबहिनीहरूलाई जनयुद्धको शंखनाद गर्दे एकआपसमा भिडाउँदै हजारौंको रगतको जुन होली खेले माओवादी शीर्ष नेताहरूले त्यसै जनयुद्धका होलीमा खेलिएको एक रंग थियो मेरो २८ वर्षीय दादाको जुन अर्काेतर्फ देश र जनताका लागि त्यस जनयुद्धका होलीमा आफ्नो रातो रगत बगाउँदै अमर प्रहरी बन्न पुगे ।
हो आज, नेपालका हिन्दू धर्मावलम्वीहरूको जनैपूर्णिमा र छिमेकी देश भारतका हिन्दूहरूले मान्दै आइरहेका रक्षाबन्धन्को दिन मैले नसम्झेको होला त आफ्नो दादालाई ! उफ् ! बिहानैदेखि मन भक्कानिएर आएको छ मेरो । सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जरदेखि अहिले त टिकटक यसो खोल्यो त्यही दाजु र बहिनीको सम्बन्धको प्रतीक रक्षाबन्धन्का अभिनय र गीतले मन भक्कानिएर आयो । सानै बाल्यकालमा ज्ञान आएदेखि दादाका हातमा बाँध्दै आएको रक्षाको त्यो सूत्रले खै त मेरा दादाको जीवनको रक्षा गर्न सक्यो ? सकेन । तबदेखि मैले मनदेखि कसैलाई न त रक्षाको त्यो बन्धन न त भाइटिकामा सप्तरङ्गी टिका लगाइदिने गरेको छु किनभने एउटै गर्भबाट जन्मेका मेरा दाइका लागि भनेर मैले चोखो पवित्र मनले भगवान्सँग दीर्घायुको कामना गरेको थिइनँ होला ? गरेको थिएँ तर के गर्नु ? जब जब मलाई माइतीको खाँचो महसुस भयो मैले आफूलाई एक्लै नै पाए । चाहे त्यो मेरो वैवाहिक जीवन होस् ! चाहे त्यो मेरो पेसागत वा व्यावसायिक जीवन ! माइतीविनाको जीवन कति गा¥हो हुन्छ मलाई सोध्नुहोला । उफ् कति पीडाले भरिएको ! सामाजिक हेपाइलाई त्यतिमात्र कहाँ हो र बिहे भएर आइसकेपछि सुन्नुपरेको आफ्नो श्रीमान्पट्टिका परिवारका तीता शब्दहरू ……उफ् ! तर यसको मतलब मैले अरूलाई माइतीको मान र सम्मान दिएकी छैन भन्ने कुरा चाँहि पटक्कै हैन ।
आज बिहानै एकजना बहिनीको स्टाटस पढें । उनले लेखेकी थिइन् ,“ बाहिर रक्षाबन्धन बाँधेको देखाएर भित्र अर्को सम्बन्ध राख्ने दाजुबहिनीलाई पनि रक्षाबन्धन्को शुभकामना” । उनको त्यो स्टाटस पढेर पहिले त मलाई हाँसो उठ्यो अनि कमेन्ट गरुँ कि जस्तो लाग्यो तर फेरि एक मनले हृया ठिकै पनि लेखेकी छिन् भन्दै केही कमेन्ट गरिन । अहिले त देखाउने चलन बढी नै भएको छ जता हे¥यो उतै देखावटी देखाउनेको लस्कर नै । त्यति मात्र कहाँ हो र कोही छोरीचेलीहरूले देखाउनुपर्ने बाध्यता पनि रहेको हामी सबैलाई जगजाहेर नभएको कहाँ हो र ? तर मेरा सन्र्दभमा भन्नुपर्दा जो जो जस जसलाई दाइ र भाइ भनी सम्बोधन गरे उहाँहरूलाई आफ्नै माइती नै मान्ने ग¥या छु पवित्र मनले । यो चाँहि हो हातको नाडीमा रक्षासूत्र बाँधिन होला र निधारमा सप्तरङ्गी टिका सजाएको नहुन सक्छ तर मनमा माया र सम्मान मैले मेरो स्वर्गीय दादालाई दिएकै जति दिने गरेको छु । आजको यो पवित्र रक्षाबन्धन् ले चाहे एउटै गर्भबाट जन्मेको होस् चाहे मानेका सबै दाजुबहिनी र दिदीभाइको पवित्र सम्बन्ध अझै प्रगाढ र पवित्र बनिरहोस् यही हार्दिक शुभकामना । म चाँहि त्यही पुरानो हिन्दी सिनेमाको गीत जसमा सुपरस्टार देवानन्दले अभिनय गरेका थिए र जसको छायाङ्कन हाम्रो सुन्दर राजधानी नेपाल अर्थात् अहिले भनिने काठमाडौंमा भएको थियो त्यही चर्चित गीत………
फुलो का तारो का सबका कहना है,.
एक हजारौं मे मेरी बहना है ..
सुन्दै ….आफ्नो मनलाई भुल्याउने काम गर्दे छु ।
क्रमशः